गर्भपतनका कानुनी व्यवस्था ः
(सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५: भाग ४, दफा १५)
(क) गर्भवती महिलाको मञ्जुरीले बाह्र हप्तासम्मको गर्भ,
(ख) गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यानमा खतरा पुग्न सक्छ वा निजको शारीरिक वा मानसिक स्वास्थ्य खराब हुन सक्छ वा विकलाङ्ग बच्चा जन्मन्छ भनी इजाजतपत्र प्राप्त चिकित्सकको राय भई त्यस्ता महिलाको मञ्जुरी बमोजिम अठ्ठाईस हप्तासम्मको गर्भ,
(ग) जवर्जस्ती करणी वा हाडनाता करणीबाट रहन गएको गर्भ, गर्भवति महिलाको मञ्जुरीले २८ हप्तासम्मको गर्भ,
(घ) रोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जीवाणु (एच.आई.भी) वा त्यस्तै प्रकृतिको अन्य निको नहुने रोग लागेको महिलाको मञ्जुरीमा अठ्ठाईस हप्तासम्मको गर्भ,
(ङ) भ्रूणमा कमीकमजोरी भएको कारणले गर्भमै नष्ट हुन सक्ने वा जन्मेर पनि बाँच्न नसक्ने गरी गर्भको भ्रुणमा खराबी रहेको वंशाणुगत (जेनेटिक) खराबी वा अन्य कुनै कारणले भ्रुणमा अशतmता हुने अवस्था रहेको भन्ने उपचारमा संलग्न स्वास्थ्यकर्मीको राय बमोजिम महिलाको मञ्जुरीमा अठ्ठाईस हप्तासम्मको गर्भ ।
स्पष्टिकरण: गर्भपतन सम्बन्धी अन्य थप कानूनी व्यवस्थाहरु सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को परिच्छेद ४ को दफा १५ देखि १९ र मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा १८८ हेर्नुहोला ।
सुरक्षित गर्भपतन सेवाका विधिहरू
क) औषधीको प्रयोगद्वारा गरिने सुरक्षित गर्भपतन (एम.ए.): यो १० हप्ता भित्रको गर्भको लागि औषधीको प्रयोगद्वारा (एम.ए.) गरिने सुरक्षित गर्भपतन विधि हो ।
(ख) म्यानुअल भ्याकुम एस्पिरेशन (एम.भि.ए.): म्यानुअल भ्याकुम एस्पिरेशन औजारको प्रयोग गरि गरिने सुरक्षित गर्भपतनको प्रक्रिया हो र यसलाई १२ हप्तासम्मको गर्भपतन गर्नका लागि प्रयोग गर्न सकिन्छ ।
(ग) डाइलेटेशन एण्ड इभ्याकुएशन (डि.एण्ड.ई.): डाइलेटेशन एण्ड इभ्याकुएशन औजारको प्रयोग गरि गरिने सुरक्षित गर्भपतनको प्रक्रिया हो । १३-१८ हप्तासम्मको गर्भको लागि कम्प्रीहेन्सीब एर्मजेन्सी अब्सटेट्रिक नियोनेटल कियर (CEONC) सुबिधा भएको सूचीकृत स्वास्थ्य संस्थामा तालीम प्राप्त सूचीकृत स्वास्थ्यकर्मीले यो सेवा प्रदान गर्न सक्छन् ।
(घ) मेडिकल इन्डक्शन (एम.आई.): १३ देखि २८ हप्तासम्मका गर्भका लागि सूचीकृत विशेषज्ञ, विशिष्टिकृत, स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतका शिक्षण अस्पताल तथा अन्य शिक्षण, टर्सरी अस्पतालमा सूचीकृत स्वास्थ्यकर्मीले मेडिकल इन्डक्शन विधि मार्फत गर्भपतन सेवा दिन सक्छन् ।
स्पष्टिकरण: औषधीको प्रयोगद्वारा गरिने सुरक्षित गर्भपतन (एम ए) सरल र प्रभावकारी विधि हो । यो विधिलाई नविनतम तथा बैज्ञानिक प्रविधि र प्रक्रिया जस्तै टेलिमेडिसिन, सेल्फ कियर लगायत व्यवसायिक रुपमा उपयुक्त ठहरिएका अन्य प्रविधि र प्रक्रियाहरु विश्व स्वास्थ्य संगठनले निर्माण गरेको प्रोटोकल अनुसार विस्तार गर्ने रणनीति रहेको छ ।